ढकारी । अछाम जिल्लामा पहिलो पटक छाउपडी प्रथा निवारणका लागी स्थानीय कानुन बनेको छ । जिल्लाको ढकारी गाउँपालिकाले आफ्नो १६ औँ हिउँदे अधिवेशनबाट यस्तो कानुन ल्याएको हो ।
जसले सामाजिक सचेतना, जागरण र कानुनको माध्यमबाट छाउपडी प्रथा नियन्त्रणका लागी मद्दत गर्ने विस्वास गरिएको छ । ढकारीले यो कानुन कार्यान्वयनका लागी प्रत्येक टोल, वडा र गाउँपालिका स्तरमा समितिहरु गठन गरेर तत्काल काम थाल्ने तयारी गरेको गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउँदले बताए । उनका अनुसार यो समितिमा धामीझाँक्री, पुजारी र स्थानीय स्तरमा ज्येष्ठ नागरिहरुलाई समितिमा विशेष भुमिकामा राखिने छ ।
खासगरी महिला र किशोरीहरुलाई जागरण पुग्नेगरी अन्य क्रियाकलाप समेत सञ्चालन गर्ने तयारी भइरहेको उपाध्यक्ष नेत्रकलादेवी शाहीले बताइन् । मर्यादित महिनावारी सम्बन्धी कार्यविधि २०८२ नाम दिइएको यो कानुन सँगै ढकारीले यस पटकको हिउँदे अधिवेशनबाट ६ वटा नयाँ कानुन पास गरेको छ भने १३ वटा प्रस्ताव माथि छलफल गरेर अनुमोदन गरेको छ ।
यो गाउँपालिले मर्यादित महिनावारी बारेको कानुन संगै अर्को पनि निकै महत्वको कानुन ल्याएको छ । गाउँसभा मार्फत समुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क पोषाक वितरण गर्ने सम्बन्धी कार्यविधि २०८२ पास गरेर आउँदो आर्थिक वर्षदेखि सरकारी विद्यालयमा अध्ययनरत छात्रछात्राहरुलाई निःशुल्क पोषक वितरण गरिने भएको छ । यसले गरीब तथा विपन्न समुदायका बालबालिकाहरु शिक्षाको पहुँचमा पुग्ने विस्वास गरिएको प्रमुख प्रशासकीय अधिकृत नरेशबहादुर बोहराले बताए । उनका अनुसार कर्मचारी, शिक्षक तथा तेस्रो मुलुकमा रोजगारी गर्ने जस्ता रोजगारीमा संलग्नहरुका बालबालिकाले भने यो सुविधा पाउने छैनन् ।
यी दुईवटा महत्वपुर्ण कानुन सहित आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन २०८२, वेरुजु फच्र्यौट कार्यविधि २०८२, गाउँसभा सचिवालय स्थापना र कार्यसंचालन कार्यविधि २०८२ तथा लेखा समिति गठन एंव कार्य सञ्चालन कार्यविधि २०८२ समेत पास गरेको गाउँपालिकाका प्रशासन शाखा प्रमुख नविन प्रसाद रिमालले जानकारी दिए ।
सभामा आर्थिक वर्ष २०८१/८२ को बेरुजु बारेको प्रस्ताव, रकमान्तर, आर्थिक ऐन २०८२ संसोधन, गाउँ कार्यपालिकाका निर्णयहरु, लेखा समिति र सुशासन समिति गठन लगायतका प्रस्तावहरुमा छलफल गरेर अनुमोदन समेत गरिएको छ ।








प्रतिक्रिया