ढकारी (अछाम) । अछामको ढकारीमा अन्तरपालिका स्तरिय खुला पुरुष फुटबल प्रतियोगिता सुरु भएको छ । सिर्जनशिल बाल क्लबको आयोजनामा बुडासैन खेल मैदानमा प्रतियोगिता सुरु भएको हो ।
क्लबका अध्यक्ष लोचन कुँवरको अध्यक्षता तथा ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष नेत्रकलादेवी शाहीको विशिष्ट आतिथ्यतामा सुरु भएको प्रतियोगितामा जिल्लाभरका १० वटा फुटबल टिमको सहभागिता रहेको छ ।
जस अन्तरर्गत बुधबार उद्घाटन खेलमा आयोजक ए र बी बिच प्रतियोगिता सम्पन्न भएको छ । उक्त खेलमा आयोजक ए बिजयी भएको छ । ए ले बी लाई ५–० गोलको अन्तरले पराजित गरेको हो ।
अब बिहीबारदेखि नियमित रुपमा खेल खेलाइने रेफ्री राजेश बुढाले बताउनुभयो । प्रतियोगितामा आयोजक ए र बी सहित ढकारीकै ढुंगाचाल्नाको अर्को फुटबल टोली पनि सहभागि छ । त्यस्तै मंगलसेनको डिएच स्पोर्टस क्लब, रोहित स्मृति क्लब जयगढ, साँफेबगर, कमलबजार, तुर्माखाँद र पञ्चदेवल विनायक नगरपालिकाको फुटबल टिमले समेत प्रतियोगितामा भाग लिने भएका छन् ।
ढकारी गाउँपालिका अछामको आर्थिक सहयोगमा भइरहेको प्रतियोगितामा प्रथम हुने टिमलाई एक लाख र दोस्रो हुने टिमलाई ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।
कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका अध्यक्ष साउद र विशिष्ट अतिथि उपाध्यक्ष शाहीले फुटबल खेलेर उद्घाटन गरेको प्रतियोगिताको उद्घाटन समारोहको समापन गर्दै आयोजक सिर्जनशिल बाल क्बलका अध्यक्ष लोचन कुँवरले खेललाई मर्यादित र शान्त ढंगले खेलाइने प्रतिवद्धता जनाउनुभयो । उहाँले समापन समारोहलाई भब्य गराइने भएकाले त्यही किसिमको व्यवस्थापनको तयारी गरिने समेत उल्लेख गर्नुभयो ।
कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष चन्द्रबहादुर बुढा, वडा नम्बर ८ का वडाध्यक्ष उद्धवराज उपाध्याय, नेपाली कांग्रेसका तर्फबाट कुबेर साउद, एमालेका तर्फबाट एकेन्द्र बहादुर शाही र कांग्रेस ढकारी गाउँ कार्यसमितिका उपसभापति रामबहादुर भण्डारी लगायतको उपस्थिति रहेको थियो ।
क्लबका सदस्य पुजा कुँवरको स्वागत मन्तब्यबाट सुरु भएको उद्घाटन सभाको संचालन भुपेन्द्र बुढाले गर्नु भएको थियो ।











प्रतिक्रिया